शान्तिको धुन

–राधा कार्की

 जुन गोलार्धमा बाँचिरहेछु म
जहाँ युगौँ अलप भएको छ
जीवन्त शान्तिको सुरिलो धुन
चलमलाइरहेछ बाजको बथान
सिकार गर्न परेवाका जोडी
न रोएर जीवनदान दिने
न कराएर प्राणको भिख पाइने !

व्यापक दुबिधामा छन्
जोडीका जोडी यी शान्तिदूतहरू 

बाजहरू लप्लपाइरहेछन् मानव बस्तीतिर
आखेटका पछिल्तिर हारालुछ गर्दै
जसरी कौरवहरू लागे पाण्डव विरुद्ध
रक्ताम्मे छन् परेवा
लुछिएका छन् अङ्ग–प्रत्यङ्ग
लम्पसार छन् यी निष्पाप पन्छीहरू
जीवन र मृत्युको उराठिलो दोसाँधमा
अनाचारले आहत छ

मेरो आकाश
मेरो धर्ती
हो, म त्यही बस्तीमा खोजिरहेछु
जीवन्त शान्तिको एउटा कर्णप्रिय धुन !

1659604664121